आज ग्याल्बो ल्होसार पर्व, शेर्पा समुदायले विविध कार्यक्रमको आयोजना गरी मनाउँदै

Posted on: १२ फाल्गुन २०७६, सोमबार

फागुन १२, काठमाडौँ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रमको आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउने गरेका छन । मुसा, गाई, बाघ, खरायो, सर्प, घोडा, भेडा, बाँदर, गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।

आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुने विश्वास गरिन्छ । ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्बो ल्होसार वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

यस पर्वमा समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाइ गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार तथा मिठो परिकार खाने, नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ ।

Comments

comments