उपनिर्वाचनमा उम्मेद्वारी दिएका उम्मेद्वारको अन्तिम नामावली आज प्रकाशन हुने

Posted on: २४ कार्तिक २०७६, आईतवार

काठमाडौँ, कार्तिक २४, आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।
गएको बिहीबार उम्मेदवारको मनोनयन दर्ता भएको थियो । उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरी आइतबार अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि उपचुनाव हुन लागेको हो । कास्की क्षेत्र नम्बर २ मा तीन जनाको उम्मेद्वारी बदर भएको निर्वाचन आयोगले जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्द सूचीमा नाम उल्लेख भएका गजेन्द्र लिम्बू, तत्कालीन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका नवराज घले (अहिले राष्ट्रिय नागरिक पार्टी)को तर्फबाट उम्मेदवारी दिएका र राष्ट्रिय मुक्ति आन्दोलन नेपालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका जयवन्त विक्रम शाह गरी तीन जनाको उम्मेदवारी बदर गरिएको आयोगले जनाएको छ । अब त्यहाँ २२ जना उम्मेदवार छन् ।

Comments

comments