कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको प्राथमिकतामा सडक विकास, पर्यटकीय गन्तव्यको पहिचान गरी संरक्षण संवद्र्धन गरिने :अध्यक्ष थापा

Posted on: १४ पुष २०७५, शनिबार

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले चालू आर्थिक वर्षमा सडकको स्तरोन्तिको कामलाई प्राथमिकतामा राखेको बताउनु भएको छ । शुक्रवार टिभी टूडे टेलिभिजनसँग कुरा गर्दै अध्यक्ष क्षेत्रीले नगर क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरी तिनीहरुको संरक्षण संवद्र्धन गरिरहेको बताउनुभयो । कालीकिच तालको प्रचार प्रसार गरेर पनि गाउँपालिकामा पर्यटक भित्रयाउन सकिने बताउँदै अध्यक्ष क्षेत्रीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग ताल संरक्षणका लागि पहल गरिरहेको जानकारी दिनुभयो । अध्यक्ष क्षेत्रीले अव्यवस्थित बसोवासलाई रोक्न प्रदेश सरकारसँग समन्वय गरिरहेको पनि स्पष्ट पार्नुभयो । गाउँपालिका क्षेत्रमा सञ्चालित योजनाहरुको अनुगमन गरिरहेको जानकारी गराउँदै उपाध्यक्ष कमलादेवी कार्कीले मापदण्ड अनुसारका सडक निर्माण भइरहेको बताउनुभयो । गाउँपालिकाको सम्रग विकासलाई मध्यनजर गरेर बनाइएका योजना कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको प्रवक्ता अमरबहादुर खत्रीले बताउनुभयो । गाउँपालिकाले संचालन गरेका विकास निर्माणका कामहरुप्रति स्थानीय पनि हर्षित छन् । गाउँपालिकाले शिक्षा, सडक, स्वास्थ्य र पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।

Comments

comments