कर्णालीका भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

Posted on: ३१ श्रावण २०७६, शुक्रबार

साउन ३१, सुर्खेत — कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् ।

निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए। उनलाई मंगलबार पाटन उच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो।

मुख्यमन्त्री कार्यालयले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेको जनाएको छ। उक्त धारामा मन्त्री पदमुक्त हुने व्यवस्था छ। बैंकिङ कसुरजस्तो गंभीर अभियोगमा मुछिएको र अदालतलाई सहज होस् भनेर मुख्यमन्त्रीले खत्रीलाई पदमुक्त गरेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। मुख्यमन्त्रीले बिहीबारै पदमुक्तको निर्णय प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराइ हाललाई उक्त मन्त्रालयको जिम्मेवारी आफैले राखेका छन्।

अदालतले तीन दिनभित्र उपस्थित हुन भने पनि मन्त्री खत्री अदालत गएका थिएनन्। उनी सशस्त्र प्रहरी बलको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर)सँगै काठमाडौंमा छन्। बुधबार साँझ कान्तिपुरसँगको कुराकानीमा उनले अदालतबाट अन्तिम निर्णय आएपछि राजिनामाबारे सोच्ने बताएका थिए।

मन्त्री खत्रीसहितको टोलीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको सम्बन्धी मुद्दा अदालतमा चलिरहेको छ। अहिले पनि उनी संलग्न केएसके कन्स्ट्रक्सन कम्पनीले उनको नेतृत्वमा रहेको मन्त्रालय मातहतका निकायका ठेक्कामा काम गरिरहेको छ। खत्री प्रदेशसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ (ख)बाट निर्वाचित भएका थिए।

कान्तिपुर बाट

Comments

comments