केरुङ –काठमाडौँ सुरुङमार्ग निर्माण अगाडि बढाइने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता

Posted on: २६ आश्विन २०७६, आईतवार

असोज २६ , काठमाडौँ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बन्ने नेपालीको सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दुईदिने राजकीय भ्रमणको क्रममा हिजो नेपाल आएका सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय भोजमा सम्बोधन गर्दै उनले नेपालीको भूजडित मुलुक बन्ने सपनालाई साथ दिने बताएका हुन् ।

दुई मुुलुकबीच बढीभन्दा बढी नाकाहरु खोलेर हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने राष्ट्रपति सीको भनाइ थियो । उनले नेपालले अपेक्षा गरेका बहुप्रतिक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले हरसम्भव सहयोग गर्ने बताउँदै केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्रपति सीले नेपालको विकासमा साझेदारी गर्न चीन तत्पर रहेको र नेपालले पनि अघि सारिएका योजनाहरु पूरा गरेरै छाड्नुपर्ने बताए ।

Comments

comments