कोरोना भाइरसको संक्रमणले नेपालमा निर्माणाधीन अवस्थामा रहेका आयोजना प्रभावित

Posted on: १२ फाल्गुन २०७६, सोमबार

फागुन १२, काठमाडौँ । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि धेरै आयोजना प्रभावित भएका छन् । जलविद्युत, विमानस्थल, खानेपानी सडक लगायतका आयोजना कोरोना भाइरसका कारण प्रभावित छन् । चिनियाँ कामदार र उपकरण नभएपछि आयोजनाको काम पछाडि धकेलिएका छन् । कोरोना भाइरसको कारण चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको नारायणगढ–बुटवल सडक बनाउने काम पनि प्रभावित भएको छ ।
१ सय १३ किलोमिटर लामो सडकलाई गैँडाकोट–दाउन्ने ६४ किलोमिटर पूर्वी खण्ड र दाउन्ने–वुटबल ४८ किलोमिटरलाई पश्चिम खण्डमा बर्गीकरण गरिएको छ । २०७५ सालको पुसमा ठेक्का सम्झौता भएको सडकमा अहिले धेरै काम भैसक्नुपर्ने थियो । १ वर्षसम्म रुख कटानको विवादले काम सुरु हुन सकेन ।
२०७६ सालको पुसदेखि सरासर काम हुन थालेको थियो, तर चीनमा कोरोना भाइरस फैलिएपछि यो आयोजना प्रभावित भएको छ । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इञ्जिनियरिङ कर्पोरेसनका २ इञ्चार्जसहित १५ जना मुख्य व्यक्ति चीनमै रोकिएका छन् । जसका कारण पूर्ण क्षमतामा काम हुन सकेको छैन ।

Comments

comments