पानी जहाज कार्यालय स्थापना भएको ८ महिनासम्म बनेन कानुन

Posted on: २४ कार्तिक २०७६, आईतवार

काठमाडौँ, कार्तिक २४, सरकारले पानी जहाज कार्यालय स्थापना गरेको ८ महिनामा पनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा समेत तयार पार्न नसकेको खुलासा भएको छ । सरकारले पानी जहाज छिट्टै संचालन गर्ने उद्देश्य लिएपनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा निर्माणको काम समेत अघि बढाउन नसकेको नेपाल पानी जहाज कार्यालय आफैले स्विकार गरेको हो । आवश्यक कानुनी अभावका कारण सो कार्यालयले पानी जहाज रुट पहिचानको कामलाई समेत अघि बढाउन नसकेको कार्यालयका शाखा अधिकृत बल्लभ विष्टले स्विकार गर्नु भयो । उहाँले आईतबार पत्रकारसंग संक्षिप्त कुरा गर्दै एकीकृत पानी जहाज ऐन निर्माणको कामलाई अघि बढाइएको भएपनि त्यसलाई अन्तिम रुप दिन बाँकि रहेको पनि जानकारी दिनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन २ गते सो पानी जहाज कार्यालयको स्थापना गर्नु भएको थियो । तर पानी जहाज कार्यालय स्थापना भएको यतिधेरै समयसम्म पनि त्यसको कानुनको मस्यौदा बन्न सकेको छैन । शाखा अधिकृत विष्टले भने एकीकृत पानी जहाज ऐनको मस्यौदा बनाउने कामलाई गत साउनको अन्तिमबाट सुरु गरिएको र केही दिन भित्रै त्यसलाई अन्तिम रुप दिई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशक समितिमा पेश गर्ने योजना रहेको पनि बताउनु भयो । कार्यालयले सो ऐनको मस्यौदा बनाउन मल्ल कानुनी परामर्श सेवालाई दिएको छ । सरकारले चालू आर्थिक वर्षभित्र जलमार्ग पहिचान गरी संचालन गर्न आवश्यक बजेटको पनि व्यवस्था गरेको छ । तर कानुनको अभाव हुँदा यस कार्यले गति लिन सकेको छैन ।

Comments

comments