प्रदेश नं ५ बाट भ्रष्टाचार नियन्त्रण अभियान सुरु

Posted on: १८ मंसिर २०७६, बुधबार

चन्द्रकान्त खनाल, रुपन्देही मंसिर १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर ५ बाट भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धन अभियानको थालनी गरेको छ ।

प्रदेशको अस्थायी राजधानी बुटवलमा मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार र प्रदेश सरकारको भूमिका बढाउने उदेश्यले विभिन्न निकायका प्रतिनिधिको सहभागितामा अन्तरक्रिया गरिएको छ ।
अख्तियार र अन्य सरकारी निकायका विचमा दुरी बढ्दै गएको अवस्थामा खुल्ला अन्तरक्रिया गर्दा सकरात्मक वातावरण बन्ने अपेक्षाले अन्तरक्रिया गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अख्तियार तर्साउने कार्यालय मात्रै होईन भन्ने सन्देश दिने गरि काम गर्न सुझाव दिनुभयो । उहाले अख्तियारमा पर्ने उजुरीका आधारमा भ्रष्टाचार बढेको मान्न नहुने समेत बताउनु भयो ।

अख्तियारमा राजनितिक प्रतिशोध, सामाजिक द्धन्द्ध र अनुचित लाभ लिने प्रवृत्तिले पनि उजुरी दिने गरेको पाइएको भन्दै पूर्वाधार विकासमा उजुरीकै नाममा आयोजना नै रोक्ने काम भने सच्चाउनुपर्ने मुख्यमन्त्रीको भनाई रहेको छ ।
प्रदेश तहका सबै निकायलाई स्वेच्छाचारी र मनपरी ढंगले काम नगर्न निर्देशन दिएको समेत उहाले बताउनुभयो । उहाले नेपाली समाज नै धनलाई प्राथमिकतामा राख्ने खालको भएकाले पनि समाजमा भ्रष्टाचार मौलाउदै गएकोले अब समस्याको कारण खोजेर त्यसलाई अन्त्य गर्न तर्फ अख्तियारले काम गर्ने बेला आएको बताउनु भयो। प्रदेश सरकारले सुशासन कायम गर्नकै लागि सबै प्रकारका अनुदानको वितरणलाई व्यवस्थित बनाउन मापदण्ड बनाइएको समेत बताउनु भयो
अन्र्तक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले राज्यले भ्रष्टाचार विरुद्ध निर्मम रुपमा काम गर्ने बेला आएको बताउनु भयो । उहाले भ्रष्टाचार संस्थागत हुँदै गएको र निर्वाचन प्रणालीले समेत भ्रष्टाचारलाई बढावा दिएकाले यसतर्फ पनि सोच्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै अख्तियारका सहसचिव कालीप्रसाद पराजुलीले नागरिकले एउटै सेवा लिनका लागि पनि पटक पटक धाउनुपर्ने, कमिशन दिनुपर्ने जस्ता समस्याहरु भोगेकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो । मुख्यमन्त्री कार्यालयका सचिव टेकनराययण पाण्डेले प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि केहि प्रयासहरु गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा सभामुख पूर्ण बहादुर घर्ती, प्रदेश ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेशका प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेशका विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

Comments

comments

Related Other News