प्रदेश ३ को प्रदेशसभा बैठक आज दिउँसो बस्दै

Posted on: २१ पुष २०७६, सोमबार

काठमाडौँ, पुस २१, प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज बस्दैछ । गत भदौ २४ गतेबाट स्थगित भएको बैठक सोमबार(आज) दिउँसो बस्न लागेको हो ।

प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यसले एजेन्डाहरू तय गर्ने जनाएको छ । प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा सोमबार छलफल हुने र मंगलबार मतदान हुने बताउनु भयो ।

पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उहाले जानकारी दिनुभयो । त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको उहाले बताउनुभयो । राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उहाको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताउनु भयो ।

निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिनुभयो । नेकपाको सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय यसअघि नै निर्णय गरेको छ । तर नेकपाका तीन नम्बर प्रदेश सांसदहरु नै सचिवालयको यो निर्णयप्रति सन्तुष्ट देखिएका छैनन् ।
मुख्यमन्त्री निवासमा शनिवार बसेको प्रदेश तीनको संसदीय दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो

सबैको भावनाको कदर गर्दै प्रक्रियाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने उनले बताए । पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले बताउनु भयो । उक्त बैठकले सचिवालयको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

Comments

comments