फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार : मन्त्री बाँस्कोटा

Posted on: २४ चैत्र २०७५, आईतवार

काठमाण्डौ २४ चैत्र

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्य पूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज राजधानी मा आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल बनाउने लक्ष्यमा सक्रिय रहेको बताउनुुभयो ।

उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँका अनुसार पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेकामा आफुले समेत शो गतिमा कुद्न चाहेको वताउनु भएको छ ।
मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिँदै उहाँले फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने उल्लेख गर्नुभयो ।

उहाँले सूचना प्रविधिका क्षेत्रमा थप लगानी आकर्षण गर्न, यस क्षेत्रमा रहेका नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको जानकारी गराउनुभयो । “समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमियात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल फ्रेमवर्कलाई पाँचवर्षभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments

comments