बोडेमा जिब्रो छेड्ने जात्राः बुद्धकृष्णले छेडे सातौं पटक जिब्रो

Posted on: २ बैशाख २०७६, सोमबार

भत्तपुरको मध्यपुर थिमी बोडेमा सातौं पटक बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्नु भएको छ । स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र २०७४,२०७५ र यस वर्ष गरी सात पटक जिब्रो छेडाउनु भएको हो ।

बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा उनको जिब्रो छेडिएको हो । नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिँ बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ ।

बाँस एवं निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप (भ्यय) बालेर जिब्रो छेड्ने व्यक्तिलाई बोकाई विभिन्न टोलटोलमा घुमाइन्छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा औषधि लाउनु नपर्ने मान्यता रहेको छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपंक्षी र महिलालाई छुन नहुने परम्परा छ ।

 

Comments

comments