भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

Posted on: २९ बैशाख २०७५, शनिबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्कनुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गर्नुभयो । प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हँुदै शुक्रबार काठमाडाँै आउनुभएको थियो ।

नेपाल भ्रमणका क्रममा उहाँले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गर्नुभएको थियो । काठमाडाँैमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उहाँ दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी हुनुभयो ।

नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडाँैमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उहाँको यो तेस्रो नेपाल भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल पुग्नुभएको थियो । (रासस)

Comments

comments