भीमदत्त नगरपालिकाले गुरु योजना बनाएर झिलमिला ताल संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने

Posted on: २८ कार्तिक २०७५, बुधबार

 

 

भीमदत्त नगरपालिकाले गुरु योजना बनाएर झिलमिला ताल संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताल सहित कालिताल झरना, ताराकोट, गहुताणी खोलालाई समेटेर गुरु योजना बनाइने योजना अघि सारेका छन् । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, प्रदेश साँसद मान सुनार सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी झिलमिला ताल भ्रमण कार्यक्रममा नगर प्रमुख विष्टले नगरपालिकाले एकीकृत गुरु योजना बनाएर संरक्षणका कार्यक्रम गरिने बताए । ‘अहिले पनि नगरपालिकाबाट ताल संरक्षणका कार्यक्रम गरिएका छन्, अब नगरपालिका योसंगै जोडिएका कालिताल, ताराकोट, गहुताणी खोला सहितको एकीकृत गुरु योजना बनाएर दिगो रुपमा संरक्षणका कार्यक्रम गर्ने सोचाई बनाएका छौ,’ नगर प्रमुख विष्टले भने, ‘त्यसका लागि प्रदेश र संघीय सरकारलाई सहयोग गर्छौ ।’ नगर प्रमुख विष्टले झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन ताराकोटमा चालु आर्थिक वर्षमा पाँच तले भ्यू टावर निर्माण सुरु गरिने जानकारी दिए । भ्यू टावर निर्माणका लागि यस वर्ष ८० लाख रुपैँया बजेट विनियोजन गरिएको छ । ‘संरक्षणसंगै प्रचार प्रसारका गुरु योजना बनाएर गर्छौ, यस वर्ष ताराकोट भ्यू टावर बनाउन ८० लाख बजेट विनियोजन गरिएको छ’ उनले भने । नगरपालिकाले झिलमिलासम्म पक्की सडक पुगाउन सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण अघि बढेको छ । ताराकोटसम्मको पाँच किलोमिटर सडक कालोपत्रका लागि गत वर्ष ठेक्का दिइएको थियो । ‘पर्यटकलाई ताराकोटसम्म गाडी पुगाउँछौ, त्यसपछि पदमार्ग बनाएर तालसम्म पुगाउने योजना हो’ नगर प्रमुख विष्टले भने,‘त्यसका लागि सडक निर्माण अघि बढेको छ, रुख कटान हुन नसकेर केही समस्या छन्, ती समस्या हल हुने बित्तिक्कै सडक कालोपत्रे हुन्छ ।’ वन विभागले वातावरणी प्रभाव मूल्याङ्कन गर्न ढिलो गरेपछि मटेना झिलमिला सडक खण्ड निर्माणमा अवरोध देखिएको हो । मटेनामा ताराकोटसम्म पाँच किलोमिटर सडक पक्की हुन लागेको हो । मटेनाबाट झिललमिला झण्डै १० किलोमिटर छ । नगर प्रमुख विष्टले भम्केनी धामबाट पदमार्ग निर्माण गरी पर्यटकलाई ताराकोट हुँदै झिलमिला पुगाउने योजना पनि बनाएका छन् । चुरे क्षेत्रमा पर्ने विचित्रको झिलमिला ताललाई नयाँ पर्यटकीय गन्तव्य सूचीमा समावेश नभएकोमा नगर प्रमुख विष्टले दुःख व्यक्त गरे । ‘नयाँ एक सय ओटा पर्यटकीय गन्तव्यको सूची सार्वजनिक भएको छ, झिलमिला जस्तो रमणीय, ऐतिहासिक, धार्मिक, प्राकृतिक ताल त्यसमा समावेश हुन सकेन’ उनले भने,‘यो दुःखको कुरा हो, यसलाई पर्यटकीय गन्तव्य बनाउन मन्त्री साँसदज्यू सहित सबैलाई आग्रह गर्छु ।’ रौटेला बाराकुण्डा क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कालिताल झरना, महाकाली नदीको झोलुङ्गे पुल, खल्ला मुसेट्टीमा महाकाली नदीको मौनता लगायतका पर्यटकीय बनाउन पहल गरिनु पर्नेमा नगर प्रमुख विष्टले जोड दिए । भीमदत्त नगरपालिकाले तालको परिक्रमा पथ सहितका पूर्वाधार निर्माण गर्ने नगर प्रमुख विष्टले बताए । ताल क्षेत्रमा विद्युत पुगाउन विद्युत प्राधिकरणसित पहल सुरु गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले परशुराम नगरपालिकासित सहकार्य र समन्वय गरी झिलमिला ताल संरक्षणका कार्यक्रम अघि गरिने नगर प्रमुख विष्टले बताए । क्षेत्र नं. ३ का साँसद डा. भट्ट, सुदूरपश्चिम प्रदेशका राज्य मन्त्री रावलले झिलमिला ताल संरक्षणका लागि कार्यक्रम अघि सारिने बताए ।

Comments

comments