मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थाको तयारी कडा

Posted on: २७ कार्तिक २०७६, बुधबार

अनिता घिमिरे, पोखरा , कार्तिक २७ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । ३२ वटा मतदान स्थलहरुमध्ये जिल्ला सुरक्षा समिति कास्कीले सुरक्षा दृष्टिले केही मतदान स्थललाई अति संवेदनशीलको रुपमा एकीन गरेको छ ।
भौगोलिक विकटता, राजनीतिक दलको प्रतिस्पर्धा र निर्वाचन बहिष्कार गर्ने समूहहरुका गतिविधिका आधारमा सबै ३२ मतदान स्थलका ८२ केन्द्रहरुको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई राख्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।
निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न कुन निकाय कसरी परिचालन गर्ने भन्ने योजनाअनुसार अघि बढाइएको केसीले बताउनुभयो । कार्यालय, कर्मचारी, उम्मेदवार र मतदाताहरुलाई सुरक्षित महशुस गराउन विभिन्न रणनीति अवलम्बन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाइने केसीको भनाइ रहेको छ ।
कास्की क्षेत्र नम्बर २ मा ११ वडा छन्। तिमध्ये वडा नम्बर १६, २०, २१, २२ का अधिकांश भू–भाग भौगोलिक रुपले केही विकट मानिन्छन्।् । भौगोलिक असहजताको फाइदा उठाउँदै निर्वाचन बहिष्कार गरिरहेको नेत्र विक्रम चन्द विप्लव समूहले मतदाताहरुलाई एक किसिमको डर त्रास फैलाउन सक्नेतर्फ सुरक्षा निकाय चनाखो बनेको छ । निर्वाचन बिथोल्न खोज्ने समूहलाई पूर्वतयारीका साथ व्यवस्थित गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो ।
विगतको आमनिर्वाचन जस्तै यसपटकको उपनिर्वाचनमा पनि सुरक्षा संयन्त्र परिचालन हुने भएको छ । सरकारले नै नेपाली सेनालाई परिचालन गर्न निर्णय मार्फत स्वीकृति दिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र बाहिरी पेरीफेरीमा नेपाली सेना परिचालन हुनेछन्। । यता जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र राज पन्तले सुरक्षा निकायका ४ वटै अगं परिचालन गरिने र सुरक्षाको हिसावले कुनै कमी हुन नदिने जानकारी दिनुभयो
आसन्न उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की–२ मा मात्रै चुनाव हुँदैछ । दलीय प्रतिस्पर्धाको रुपमा पनि यस क्षेत्रलाई विशेष चासोको रुपमा लिइएको छ । १० स्वतन्त्रसहित ११ दलीय गरी २१ जना चुनावी मैदानमा उत्रिएका छन्। । सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई उम्मेदवार छिन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा छन्। । कुल ३२ मतदानस्थलका ८२ केन्द्रहरुमा ७१ हजार ८ सय ७१ मतदाता सहभागि हुनेछन्। ।

Comments

comments

Related Other News