मनसुन सक्रिय: बढ्दै बाढीपहिरोको जोखिम

Posted on: २६ असार २०७६, बिहीबार

 काठमाडौँ २६ असार – मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
“काठमाडौँ उपत्यकामा पूर्ण बदली छ,” उहाँले थप्नुभयो, “अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको छ । ” उहाँका अनुसार गएको २४ घण्टामा सबैभन्दा धेरै बुटवल भैरहवा क्षेत्रमा ६२ मिलिलिटर पानी परेको छ । त्यसपछि विराटनगर क्षेत्रमा ४२ मिलिलिटर, सिमरामा ३४ मिलिलिटर, दाङमा २१, नेपालगञ्जमा १७, काठमाडौँ उपत्यकामा १५, पोखरामा र ताप्लेजुङमा १३÷१३ मिलिलिटर पानी परेको छ । “मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको हो,” बासीले थप्नुभयो, “यसले बङ्गालको खाडीको बाष्पीय हावा तानिरहेको छ । ”
बाढी पूर्वानुमान महाशाखाले बढ्दो वर्षात्का कारण नदीको बहाव बढ्नाले तराईका केही क्षेत्रमा आकस्मिक बाढी आउने र डुबान हुनसक्ने जनाएको छ । महाशाखामा जलविज्ञ विनोद पराजुली र सुनिल पोखरेलसहित प्रभाकर यादव, सञ्जीव कर्माचार्य, दुर्गा घिमिरे लगायतका कर्मचारी निरन्तर नदीको सतह घटबढको अवलोकनमा जुट्नु भएको छ । भर्खरै बबरमहल सरेको महाशाखाको व्यवस्थापन भने लथालिङ्ग छ तर पनि बाढीको पूर्वसूचनालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिइएको छ ।
“पूर्वी क्षेत्रको प्रदेश १ को चुरे र पहाडी क्षेत्र प्रदेश २ र ३ का चुरे र पहाडी क्षेत्रका स्थानीय नदीमा आकस्मिक बाढी आउन सक्नेछ,” महाशाखाका जलविज्ञ विनोद पराजुलीले भन्नुभयो, “काठमाडौँका साना र मझौला नदी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र चुरे शिवालिक क्षेत्रबाट बहने नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । ”
बेसिनका हिसाबले मझौला नदी कन्काई, कमला र बाग्मती, साना नदीमा पूर्वको मेची, विरिङ, निन्दा, पथरी, मोरङ, सुनसरी, ईलामबाट बहने साना नदीहरू, उदयपुरको त्रियुगा, सप्तरीको खाँडो, महोत्तरीको रातु, रौतहटको लालबकैयामा बाढीको उच्च जोखिम छ । ती नदीले छोएका होचा भू–भाग डुबानमा पर्ने हुँदा केही बस्ती अन्यत्र सार्नुपर्ने अवस्था आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने पराजुलीले बताउनुभयो ।
बिहीबारदेखि भने पश्चिमका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्रका नदीमा बाढीको जोखिम बढ्नेछ । भेरी नदीको बहावले सतर्कताको तह छोइसकेकाले निरन्तर वर्षा कायम रहे तटीय क्षेत्रमा जोखिम बढ्ने उहाँले जानकारी दिनुभयो । पराजुलीका अनुसार वर्षात्ले गलिसकेको पहाडी भेगमा भने पहिरोको खतरा बढ्दैगएको छ । प्रदेश १, ३, ५, ६ र ७ का पहाडी भेगमा पहिरोको जोखिम बढेकाले त्यस क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन पर्ने अवस्था आइसकेको छ ।
काठमाडौँमा भने सतर्कता तहमा पुगिनसके पनि लगातार वर्षा भएमा डुबान हुने सम्भावना छ । यहाँका भौतिक संरचनाको चाप, साँघुरा नदी र पानीको निकास अन्यत्र नभएकाले पनि चाँडै नै नदीको सतह माथि आउने गरेको छ । सन् १९९३ ताका २३६ मिलिलिटर पानी पर्दा उपत्यका डुबानमा परेको थियो तर गत वर्ष १३० मिलिलिटर पानी परेकै भरमा भक्तपुर डुबानमा परेको थियो ।
मध्य र पूर्वको वर्षा र बाढीको अवस्था कम्प्युटरमा नियालिरहनुभएका जलविज्ञ सुनिल पोखरेलले बाढीले नदीको सतर्कताको सतह नाघ्नासाथ म्यासेज पठाएर स्थानीयलाई सचेत बनाउन तयारी अवस्थामा रहेको जनाउनुभयो । रातभर पानी पर्दा झिमिक्क निदाउन नपाएको भन्दै उहाँले दिउँसो एकछिन निदाएपछि फेरि रातभर जाग्राम बसी बहाव अवलोकन गर्ने सुनाउनुभयो । महाशाखाले २२४ वटा जोखिमक्षेत्र पहिचान गरी त्यसमा ध्यान केन्द्रित गरेको जनाएको छ ।
बाढी र पहिरोको सम्भावित जोखिम अवलोकनसँगै प्राप्त सूचनालाई राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउने कार्यलाई महाशाखाले निरन्तरता दिइरहेको छ ।

तयारी अवस्थामा केन्द्र
मनसुन आपतकालीन कार्ययोजना २०७६ अनुसार राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र डुबान, बाढी, पहिरो लगायतको जोखिमको प्रतिकार गर्न तयारी अवस्थामा रहेको छ । यसपटक तराईका २३ वटा जिल्ला बाढीको सम्भावित जोखिमयुक्त जिल्लाका रूपमा पहिचान गरी तयारी थालेको केन्द्रका प्रमुख वेदनिधि खनालले बताउनुभयो ।
“पहाडमा भने विकासको नयाँ ढाँचाले पहिरोको उच्च जोखिम बढ्दैगएको छ,” उहाँले भन्नुभयो, “तर पहिरोको पूर्वसूचना छैन बढी पानी परेका सुरक्षित स्थानमा सर्नुस् भन्नुबाहेक अरू उपाय छैन । ”
केही दिन अघिमात्र पाँचथरमा अचानक पहिरो गएपछि जोखिमयुक्त २५ घरलाई अन्यत्र सारी सुरक्षित पारिएको जानकारी उहाँले दिनुभयो । कार्ययोजना अनुसार स्थानीय तहको गाउँपालिका, नगरपालिका, जिल्ला तहमा आफ्नै छुट्टै सञ्जालको निर्माण गरिएको छ ।
प्रदेश तहमा आफ्नै सञ्जाल छ र सबैलाई सहयोग गर्ने केन्द्र तहको व्यवस्थापन रहेको खनालले जानकारी दिनुभयो । स्थानीयदेखि केन्द्रसम्म अन्य निकाय रेडक्रस, गैरसरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, मानवअधिकारकर्मी र नागरिकको फरक सञ्जालले समेत विपद्को तयारीमा सघाइरहेको छ ।
निश्चित स्थानमा सुरक्षाकर्मी, उद्धार सामग्री र राहत सामग्री तयारी अवस्थामा राखेका छौँ, खनालले भन्नुभयो जिल्लामै क्विक रेस्पोन्स टिम तयार छ । उहाँका अनुसार प्रदेशमा नेपाली सेना, सशस्त्र प्रहरीको डफ्फा तयारी अवस्थामा छ । काठमाडौँ, इटहरी र सुर्खेतमा आपतकालीन उद्धारका लागि हेलिकोप्टर तयार छ । मौसम, बाढी र वर्षा तीनथरी सूचनाका लागि आपसी समन्वय तीव्र पारिएको उहाँले बताउनुभयो ।

विपद् पूर्वतयारीका चुनौती
एकपटक समस्या आइपरेपछि भविष्यमा समाधान गर्न अझ राम्रो बनाउनुपर्ने हुन्छ । यस मामलामा सरकार र सम्बन्धित निकायको ध्यान अझै जान नसकेको भन्दै सरोकारवाला तथा विगतमा विपद्बाट पीडित भएकाहरू गुनासो गर्छन् ।
आपतकालीन कार्य सञ्चालन केन्द्रले गृह मन्त्रालयअन्तर्गत रहेर काम गर्दैआएको छ । तथापि यस्ता विपद्को पूर्वतयारी अझै पनि सरकारको प्राथमिकतामा पर्न नसकेको केन्द्र प्रमुख खनाल स्वीकार गर्नुहुन्छ । “विगतको पाठ सिकेर निर्माणको गतिविधिदेखि बस्ती पुनस्र्थापनासम्मका गतिविधि राम्रो हुनुपर्ने हो तर विविध कारणले खासै गर्न सकिएको छैन,” उहाँले भन्नुभयो, “सडक, बाँध र भौतिक निर्माण वर्षाकै समयमा बढी हुँदा क्षति झन् बढेको देखिन्छ । ”
त्यस्तै अन्य चुनौतीका रूपमा जोखिम न्यूनीकरण मूल प्रवाहीकरण नहुनु, साधनस्रोतको व्यवस्थापन र उपलब्धतामा राज्यको ध्यान नजानु, मानिसमा चेतना र सूचना प्रसारणको कमी र तत्काल आइपर्ने विपद्को नेतृत्व प्रणालीको अभाव रहेको
उहाँ सुनाउनुहुन्छ । अन्तर्राष्ट्रिय चलन हेर्ने हो भने यस्ता राष्ट्रिय तथा स्थानीय विपद् आइपर्दा एकजनाको नेतृत्वमा एकद्वार प्रणालीमा काम हुनेगर्छ तर नेपालमा पुरानो ज्ञान, क्षमता र सिकाइबाटै जोखिम घटाउने उपाय अपनाइँदैछ । गोरखापत्रवाट

 

Comments

comments