म राजनीतिबाट भाग्दिन, ओलीसँग श्रीमान श्रीमतीको जस्तै घर झगडा सम्झे हुन्छ :माधव नेपाल

Posted on: ६ भाद्र २०७६, शुक्रबार

काठमाडौँ, भदौँ ६ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ ।

सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यस बारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको हो । विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै उहाँले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिनुभयो । झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उहाँले राजनीतिमा पनि भागेर नभई समस्यासंग जुध्दै र सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नभयो “नेताहरुबीच भनाभन भएछ भनेर पुर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो यो बाट आत्तिनु केही पनि पर्दैन । यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । विहे गर्नु नै वेकार रहेछ । छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुदैन । आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन् । बाधा अवरोध हरु आउन्छन् । ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ । सामथ्र्य पनि हुनुपर्छ । यदि तपाईमा सामथ्र्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न । ”

नेता नेपालले पारिवारिक , राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले ‘फुलको आँखामा फुलै संसार, काडाको आखैमा काडा संसार ’भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताउनुभयो ।

Comments

comments