सरकारले लक्ष्य अनुसार बजेट खर्च गर्न सकेन

Posted on: २२ फाल्गुन २०७५, बुधबार

सरकारले लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेको पाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गर्नु भएको चालू आर्थिक वर्षको ‘अर्धवार्षिक समिक्षा प्रतिवेदन’मा २८ दशमलव ६ प्रतिशत मात्रै बजेट खर्च भएको उल्लेख गरिएको हो । प्रतिवेदनमा चालू आर्थिक वर्षको ६ महिनामा ३ खरव ७५ अरव ८२ करोड मात्रै बजेट खर्च भएको उल्लेख गरिएको छ । जुन कूल बजेटको २८ दशमलव ६ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा करिव ३५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बजेट विनियोजनका लागि आवश्यक कानुन र संरचना बनाउने काममा केन्द्रित हुनु परेकाले चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार बजेट खर्च गर्न नसकिएको स्पष्ट पार्नु भयो । उहाँले ठूला आयोजनाहरुले भुक्तानी गर्न ढिलाई गरिदिँदा पनि बजेट खर्च कम भएको देखिएको पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले अव कानुन, कार्यविधि र निर्देशिकाहरु बनाउने काम सकिएकाले सरकारले बजेट खर्च गर्ने कामलाई प्रभावकारी ढंगले अघि बढाउने दावी पनि गर्नु भयो । यता, राजस्व संकलनमा भने सरकारले गत वर्षको तुलनामा २६ दशमलव १ प्रतिशतले वृद्धि गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा राजस्व संकलन ४ खरव २ अरव ४५ करोड भएको हो । अर्थमन्त्री खतिवडाले राजस्व संकलनको कामलाई पनि सरकारले वृद्धि गर्दै लैजाने लक्ष्य लिएको पनि बताउनु भयो । सरकारले आर्थिक वर्षको ६ महिनामा बजेट खर्चको अवस्था निराशाजनक रहेपनि आर्थिक वर्षको अन्त्यसम्म ९१ दशमलव २ प्रतिशत बजेट खर्च हुने अनुमान समेत गरेको छ । अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको ६ महिनामा मूल्य वृद्धि ४ दशमलव २ प्रतिशतमा सीमित रहेको दावी गर्नु भयो । अर्थवार्षिक समिक्षा प्रतिवेदनमा रेमिटयान्समा ३० दशमलव २ प्रतिशतले वृद्धि हुन गएको उल्लेख गरिएको छ । त्यसैगरी कूल निर्यात व्यापार १० दशमलव ३ प्रतिशतले वृद्धि भएको पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा प्रदेश सरकारलाई वित्तिय हस्तान्तरण अन्तरगत ३७ अरव २९ करोड तथा स्थानीय तहलाई ८१ अरव ६७ करोड निकास गरिएको उल्लेख गरिएको छ ।

Comments

comments