सरकार आफैले बनाएको ऐनको पालना गर्न सकिरहेको छैन: नेकपा नेता नेपाल

Posted on: ११ पुष २०७६, शुक्रबार

काठमाडौँ, पौष ११, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफैले बनाएको ऐन नियमको अक्षरस पालना गराउने सन्र्दभमा सरकार दृढताका साथ अघि बढ्न नसकेको गुनासो गर्नुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित पारिवारिक निजी बन संघ नेपालको दोश्रो संघीय महाधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले शक्तिशाली भएर पनि सार्वजनिक जग्गा मिच्ने ,हड्प्ने प्रवृत्तिको अन्त्य गर्ने सवालमा सरकार दृढताका साथ अघि बढ्न नसकेको बताउनुभएको हो । बद्मासी र कानुन उलंघन गर्ने विरुद्ध राज्य दृष्ढताका साथ अघि बढेमा जनताको पनि साथ पाउने भन्दै उहाँले सार्वजनिक जग्गा, बन लगायतको अतिक्रमण अन्त्य गरिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो “विभिन्न ठाउँमा गुठीको नाममा होस्, बालुवाटारको नाममा होस्, नेपाल ट्रष्टको नाममा होस्, जुनसुकै ठाउँमा पनि राज्यलाई नोक्सान पुग्ने र बद्मासी कसैले गरेको छ भने त्यसलाई दण्डित गर्नका लागि राज्य दृढताका साथ अघि बढ्नुपर्छ । राज्य दृढताका साथ अघि बढे जनताको साथ पाउनेछ ।”

शक्तिशाली सरकार भएकाले बनमाफियाहरुसंग मिलेमतो गर्नेलाई सँजाय दिलाउन अनुकुल वातावरण रहेको भन्दै उहाँले दिर्घकालिन सोच सहित अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।

राजनीतिक अस्थिरताका कारण कर्मचारीहरुले पनि सरकारका निर्देशनहरुलाई नमान्ने प्रवृत्ति विगतमा रहेको उहाँले उल्लेख गर्नुभयो । कर्मचारीहरुको अटेरी प्रवृत्तिलाई आफु प्रधानमन्त्री भएको समयमा नजिकबाट अनुभव गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

Comments

comments