साढे १२ अर्बको तेल निर्यात

Posted on: २६ श्रावण २०७६, आईतवार

साउन २६ , वीरगन्ज – आर्थिक वर्ष ०७५/७६ मा खाने तेल भारततर्फ निकासी हुन थालेपछि नेपाली तेल उद्योगले १२ अर्ब ६७ करोड ९४ लाख २२ हजारको तेल निर्यात  गरेका छन्। २०७५ असोज २२ गते भारतले निर्यात अनुमति दिएपछि मंसिरदेखि फेरि तेल निकासी सुरु हुन पाएको थियो। यो सात महिनामा नेपालले एक लाख १६ हजार एक सय २३.२७१ टन तेल निर्यात गर्न सफल भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार दुई थरीका पाम र सोयाविन आयल नेपालबाट भारतीय बजारमा निर्यात भएको देखिन्छ। अधिक मात्रामा गएको पाम आयल ९५ हजार ६ सय ६४.६६४ टन निकासी भएको देखिन्छ। यसबाट १० अर्ब ३३ करोड तीन लाख ५१ हजार रुपैयाँ आर्जन भएको छ।  त्यस्तै २० हजार चार सय ५८.६०७ टन सोयाविन आयल निर्यात भएको छ। सोयाविन तेल दुई अर्ब ३४ करोड ६३ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ। त्यसभन्दा अघिल्लो आववमा त्यस्तो तेलको निकासी शून्य रहेको पाइन्छ।

आव ०५७/५८ सम्म नेपाली उद्योगले भारतीय बजारतिर वनस्पति घ्यू र तेल उत्पादन गर्न पाएका बेला त्यस्ता उद्योगमा लगानी थपिए। नेपाली वनस्पति घ्यू तथा तेल उद्योगको त्यो सुनौलो कालखण्ड भने धेरै चलेन। आव ०५८/५९ मा भारतले वार्षिक एक लाख टन नेपाली वनस्पति घ्यू खरिदको कोटा निर्धारण गर्दा निर्यातको परिमाण सीमित भयो। र, वनस्पति घ्यू तथा तेल उद्योगको खराब समय सुरु भयो। निर्यातकै उद्देश्यले र स्वदेशी मगभन्दा निकै बढी उत्पादन हुने गरी धमाधम उद्योग खुलेका थिए। वनस्पति घ्यू तथा तेल उद्योगमा समस्या पस्यो। अर्को चार–पाँच वर्ष सीमावर्ती क्षेत्रका वनस्पति घ्यू र तेल उद्योग तस्करीको भरमा टिके। स्थानीयको स्मरणमा ताजै रहेको छ, सहरदेखि ग्रामीणसम्मका नाकामा ‘जार’मा वनस्पति घ्यू र ‘कार्टुन’मा तेलको पोका तस्कर र तिनका भरियाले ओसारेर सीमापारी लैजान्थे। त्यहाँबाट रेलदेखि अन्य साधन प्रयोग गरी ठूलो बजारमा पु-याइन्थ्यो। यो पनि धेरै चलेन।

त्यस उपरान्त भारतमा लागू भएको नयाँ करको दरले करिब १० वर्षअघि वनस्पति घ्यू निर्यात वन्द हुन पुगेको उद्योगी सम्झिन्छन्। ‘नेपालका वनस्पति घ्यू उद्योग भारतीय करसम्बन्धी नीति परिवर्तनपछि समस्यामा पर्न थाले,’ वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकारिया भने, ‘कतिपय उद्योग बन्द भए। नेपाली उद्योगले वनस्पति घ्यू बनाउने एकाइलाई ‘रिफाइन्ड’ (प्रशोधित) तेल उत्पादन गर्ने एकाइमा रुपान्तरित गरे।’

अब लामो अन्तरालपछि ‘पाम आयल’ अर्थात खजुरको तेल र ‘सोयाबिन आयल’ अर्थात भटमासको तेलको निर्यात सुरु भएको छ। पाम आयलको निर्यात अनुपात बढी छ। वनस्पति घ्यू प्रयोगकर्ता न्यून भइसकेकाले त्यसको निर्यात फेरि ब्युतिने आशा भने नेपाली उद्योगीलाई छैन। तेल निर्यात सुरु भएपछि भने उद्योग फेरि तँग्रिने विश्वास उद्योगीमा जागेको छ। विदेशबाट ‘क्रुड आयल’ (कच्चा तेल) आयात गरी उद्योगले प्रशोधन र ‘रिप्याकिङ’ गर्ने गरेका छन्। त्यसै प्रकारको तेल निर्यात सुरु भएको हो। यसमध्ये वीरगन्ज नाकाबाट सबैभन्दा बढी निकासी हुन पाएको छ।

वीरगन्ज नाकाबाट तेल निर्यात
वीरगन्ज भन्सार भएर आव ०७५/७६ मा सात अर्ब ७७ करोड २९ लाख ६ हजार रुपैयाँबराबरको दुई थरीका खाने तेल भारततर्फ निर्यात भएको छ। निर्यातको उद्देश्यले खुलेका वीरगन्ज करिडोरका घ्यू तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए। अहिले देश बाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार यहाँ भएर २०७६ असार मसान्तसम्म ७० हजार चार सय ७७ टन ‘तेल निर्यात भएको छ।

कार्यालयका सूचना अधिकारीसमेत रहेका भन्सार अधिकृत मनिष कुमार महतोले ‘आइसिपी’ नाका भएर तेल निकासी भएको बताए। ‘पाम आयल’ निर्यातबाट ६ अर्ब १७ करोड ५० लाख ६७ हजार रुपैयाँ नेपाली उद्योगलाई आर्जन भएको छ। त्यस्तै भटमासको तेल निर्यातबाट एक अर्ब ५९ करोड ७८ लाख ३८ हजार रुपैयाँ नेपाली उद्योगीले भित्र्याएका छन् ।

‘सरकारी संयन्त्रमार्फत निर्यात अनुमतिका लागि भारसतसँग माग गरिएको थियो, विभिन्न समयमा हामीले पनि यसका लागि आग्रह गरेका थियौं,’ नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ताले भने, ‘यो वर्षचाहिँ आधिकारिक पत्र प्राप्त भएपछि निर्यात सुरु भयो । यो नेपाली तेल उद्योग क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो।’ व्यापार घाटा कम गर्न निर्यात बढाउँदै लैजानु पर्ने भएकाले यो देशका लागि समेत उपलब्धिपूर्ण भएको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका गुप्ताले टिप्पणी गरे ।

नागरिक न्युज बाट

Comments

comments