हिंसामा शुन्य शहनशीलता अपनाई कारबाही अघि बढाउनुस् : गृहमन्त्री थापा

Posted on: २४ आश्विन २०७६, शुक्रबार

२४ असोज , काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालिकाउपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन् ।

जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नहुने भन्दै उनले बिना हिच्किचाहट त्यस्तामाथि कारबाही गर्नुपर्ने उनको भनाइ थियो । गृहमन्त्री थापाले आफ्नो कुशल कार्यसम्पादन मार्फत प्रहरी संगठन अन्तराष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्न सुझाए ।

प्रहरी कुनै लोभ लालचमा फसी कार्य गरेमा क्षम्य नहुने चेतावनी पनि उनले दिए । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको लक्ष्यलाई आत्मसात गरी नेपाल प्रहरी संधै लागि पर्ने जानकारी दिए । प्रहरी दिवसकै अवसरमा २९ जना अमर प्रहरीका परिवारलाई आर्थिक सहयोग र कदर पत्र प्रदान गरिएको थियो ।

Comments

comments