६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन काँग्रेसको दवाव

Posted on: २९ असार २०७६, आईतवार

२९ असार , प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ ।

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्न सरकारलाई दवाव दिनु भएको हो । आईतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धि विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले ज्येष्ठ नागरिकको उमेर ७० वर्षनै राख्नुपर्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने पार्टीको पूरानै अडान दोहो¥याउनु भयो । सचेतक भुसालले भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क पनि गर्नु भयो । उहाँले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाउनु भयो । ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने उहाँको भनाई थियो ।

सत्तारुढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पार्नु भयो ।

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ । त्यसप्रति सत्तारुढ नेकपाकै सांसद श्रेष्ठको असहमति छ ।

Comments

comments