सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी

Posted on: ३० आश्विन २०७६, बिहीबार

सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताउनुभएको हो ।

देश संघीयतामा गैसकेकाले त्यही अनुसारको स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागिपरेको राज्यमन्त्री यादवको भनाइ छ । विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको पनि बताउनुभयो । राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको दोेहोर्‍याउनुभयो । उहाँले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राज्यमन्त्री यादवले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्वस्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Comments

comments