यर्थातमा आधारित कविता ‘बहिनी पर सरेको दिन’ भिडियोसहित 

Posted on: २ फाल्गुन २०७६, शुक्रबार

 ‘बहिनी पर सरेको दिन’

त्यो दिन साँझ परिसकेको थियो,
बहिनीको रुँदै गरेको आवाज सुने,
केही बेरमा आमा भन्छिन तँ त अब पर सरिस,
मैले त्यसदिन साँझपख बहिनीका अाँखामा रोदन , शरीरमा पिडा र मनमा डर झलक्क देखेँ ।।

हुन त म घरको जेठो छोरो हुँ
तर
जुन समाजमा बोक्सीको आरोपमा एउटि निर्दोष महिलालाई गु खुवाईन्छ,
जुन समाजमा नारीलाई दोस्रो दर्जामा राखिन्छ,
म मेरो पिरलाग्दो परम्परा र प्राकृतिक गुणका अगाडि…..
मैले आफुलाई नै लाचार महसुस गरे ।।

आज दुई दिन भइसक्दापनि,
बहिनी चर्पी नजिक बनाइएको सानो टहरोमा बस्दै आएकि छिन,
उनी हाँस्न खोज्छिन तर हाँस्न सक्दिनन्,
उनी बोल्न खोज्छिन तर बोल्न सक्दिनन्,।।

आज रगत बगिरहदा मानवरुपी दानवहरुका हेर्ने दृष्टिकोणहरु पेचीला भएका छन ।
प्रत्येक चोटि आफुलाई दु:ख र असहजता महसुस हुँदा आफ्नै~घर परिवार पनि आफ्नै बिरुद्धमा भएका छ्न ।
नेपाली दिदिबहिनी अखबारमा नछापिनु पर्ने घटना र बहसका मुद्दा बनेकी छन ।
अरु दिन उनी घर सजाउछिन, छोरी र बुहारीको रुपमा घरको काम पनि सघाउँछिन
तर
हरेक महिनाका ६ दिन अँध्यारो र अन्धकारको काल कोठरिमा बिताउछिन ।।

उनी पुर्ब मेचीका गाउँहरुमा पनि छिन..
उनी पश्चिमको कञ्चनपुर सम्म पनि छिन..
उनी देशका कुना-कुनामा छिन…
तर
उनी आवाज बिहिन छिन।

सधैंझै हामीहरुले खाना खाने भाडाहरु पनि फरक छन,
कसैलाई पनि नछुनु पर्ने समाजको खोक्रो नियममा आमा पनि बाँधिएकी छिन,
खै ! यहाँ मान्छेले मान्छेलाई बुझ्न सकेनन्
या त ! धमनीभित्र बग्ने रातो रगत सरि,
रजस्वलाको प्रक्रियालाई बुझ्न् सकेनन्।

सम्झिँदा अचम्म र उराठ लाग्छ २०५०
————————————
धेरै बर्ष बितीसक्दा हिजो आज
चर्पी नजिक बनाइएको सानो टहरो त छैन,
तर
कथा भने..भनि नसक्दा र अनगिन्ति छ्न।

आज ज्ञान त बढी सक्यो
तर
व्यवहार भने जस्ताको त्यस्तै छन।
आज बहिनी डराएकि त छैनन,
तर
बिडम्बना मन भित्र त्राश २०५० जत्तिकै ताजा छ्न ।

उनी परालका त्यान्द्रामा सुतेकि छिन ,
प्रत्येक दिन कहाली लाग्दा छन ,
रात अन्धकारमा बितेका छन ,
तरपनि दिदी भन्छिन
२-४ दीनको कुरा त हो भाई
सब ठिक भइहाल्छ
त चिन्ता नगर ,
मन भित्र थुप्रै आशा र त्यो थाकेको शरिर भित्र दिदी पनी गुमनाम छिन ।

उनी जन्म दिने आमाका रुपमा पनि छिन ।
उनी दिदीबहिनीको गहिरो सम्बन्धमा पनि छिन।
उनि सच्चा जीवनसाथिको व्यवहारिक-प्रतिबिम्बमा पनि छिन।
तर
उनी हरेक सामाजिक अत्याचारमा मुछिने निर्दोष अभियुक्त पनि बन्न पुगेकि छिन ।

उनी आफ्नो स्वतन्त्रताका लागि गौतम बुद्धको देशमा शान्ति र न्याय खोज्दै छिन
उनी आफ्नो अधिकारका लागि आफ्नै परम्परा र संस्कृति सँग संघर्ष गर्दैछिन
उनी आफ्नो निर्दोष चरित्रका लागि झुठलाई पनी आत्मसात गर्दै छिन ।

आज गाउँ
सहरमा बदलिएका छन ,
हामीहरुले हिड्ने साँघु~~रा बाटाहरु फरा~~किला भएका छन
तर,
घरमा छोरी जन्मिदा (बा) अझै नि निराश छन ।

आखिर कहिलेसम्म सामाजिक कुरीतिको भुमरीमा निर्दोष नेपाली बहिनीहरु पिल्सिरहने छिन ?
यी प्रश्नको उत्तर मेरा गाउँ,टोल,सहर,समाजले कहिले दिन सक्छन् ?
आज यो भन्दै गर्दा मेरा शब्दहरु पनी आत्तिएका छन ।

Comments

comments